कर्णाली प्रदेशमा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, ४८० घर परिवार विस्थापित



कर्णाली । कर्णाली प्रदेशभर बाढीपहिरामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको हो ।

सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।उनका अनुसार मुगुमा आठ, कालिकोट र हुम्लामा चार/चार, जाजरकोटमा तीनको मृत्यु भएको छ ।


डोल्पा र सल्यानमा दुई÷दुई जनाको मृत्यु भएको छ भने दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

२२ जना अझै बेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । बेपत्ता हुने सबैभन्दा धेरै कालिकोटका एक प्रहरी जवानसहित २० रहेका छन् ।

जुम्लाका दुई र दैलेखका एक जना रहेका छन् । बाढीपहिरामा परी प्रदेशभर २१ घाइते भएको विवरण प्रहरीको तथ्याङ्कमा छ । जसअन्तर्गत कालिकोटका मात्रै सात छन् भने मुगु र हुम्लाका पाँच/पाँच घाइते भएका छन् । जुम्लाका दुई, रुकुम पश्चिमका एक र जाजरकोटमा एक जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सयौँ घर परिवार विस्थाापित

लगातारको वर्षाका कारण कर्णाली प्रदेशभर चार सय ८० घर परिवार विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा धेरै दैलेखमा एक सय तीन घर परिवार विस्थापित भएका छन् ।

मुगुका एक सय ७८ घर परिवार विस्थापित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका नौ, सुर्खेतका आठ घर परिवार विस्थापित भएका हुन् ।

डोल्पाका चार घर परिवार विस्थापित हुँदा जाजरकोट र रुकुम पश्चिमका दुई/दुई घर परिवार विस्थापित भएका छन् । प्रभावित जिल्लामा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी परिचालन गरी उद्धार र राहत कार्य भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।

घर क्षति र विस्थापितलाई लागि प्रदेश सरकारले राहत पठाउने प्रक्रियामा सुरु गरेको जनाएको छ । घाइतेको उद्धारको लागि हेलिकप्टर परिचालन भइरहेको जनाइएको छ ।