एन्फाद्वारा साफ यू–१५ महिला च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ



काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ यू–१५ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली यू–१५ महिला टोलीलाई बिदाइ गरेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरे ।


च्याम्पियनसिपका लागि नेपाली टोली शनिवारबंगलादेश प्रस्थान गर्ने एन्फाले जनाएको छ । साफ यू–१५ महिला च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविन लिगका आधारमा खेलहरु हुनेछ । डबल राउन्ड रोबिन लिगपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले नोभेम्बर ३ मा भुटानसँग खेल्दै च्याम्पियनसिप सुरु गर्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगर छिन् भने सहायक प्रशिक्षकमा मंगल महर्जन, गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी छन् ।

नेपाली यू–१५ महिला टोली

गोलकिपर : राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल

डिफेन्डर : सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही

मिडफिल्डर : सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन

फरवार्ड : दीपा रोकाया (कप्तान), समीक्षा मगर, वर्षा ओली, सेनु परियार