काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दलको खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका स्थानीय संरचनाहरूमार्फत संकलन गरिने भएको छ।
बिहीबार बसेको निर्वाचन आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकले सो निर्णय गरेको हो।
बैठकपछि आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नुपर्ने भएकाले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा गरेको खर्च तथा आचारसंहिता पालनाको सम्बन्धमा गहन तथा सूक्ष्म रूपमा अध्ययन तथा निगरानी गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाउने निर्णय गरेको छ।’