काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता देशभर उत्साह वर्द्धक रूपमा भइरहेको छ ।
प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनकरुपमा भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
उम्मेदवारी दिने सिलसिलामा कतिपय उम्मेदवारको कागजपत्रका व्यवस्थापनसम्बन्धी समस्या परेकामा आयोगको केन्द्रीय कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट त्यसको सहजीकरणको काम भइरहेको जानकारी दिइएको छ ।
अहिले मुलुकका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले निर्धक्क भएर शान्तिपूर्ण वातावरणमा मनोनयनपत्र दर्ता गराइरहेका छन् । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।