आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्तालाई प्रचण्डको आग्रह



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्ताहरुसमक्ष आग्रह गरेका छन् ।

शुक्रबार बिहान  काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरु देखापरेको बताए ।


उनले नेकपा एमालेप्रति लक्षित गर्दै संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरितिर फेरि धकेल्ने कसरतहरु गरिरहेको बताए । उनले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको जिकिर गरे ।

अध्यक्ष प्रचण्डले देशमा पश्चगमन र अग्रगमनको दुई वटा विचार र प्रवृत्ति देखा परेको बताए । उनले आगामी निर्वाचन देश, संविधान र लोकतन्त्रले जित्ने की हार्ने भन्ने कुराको निर्धारण गर्ने बताए ।

अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । उनले गठबन्धनबिरोधी विभिन्न प्रचार भएको भन्दै गठबन्धन यसपटक मात्रै भएको झैँ नबुझ्न आग्रह गरे ।

उनले भने, ‘मंसिर ४ गतेको निर्वाचन एउटा समान्य निर्वाचन मात्रै हुँदैछैन । किनकी केही समयदेखि नेपालको राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरु देखा परे । संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरितिर फेरि धकेल्ने कसरतहरु भए । त्यो प्रवृत्ति,विचारका बिरुद्ध लड्नको लागि नै यो गठबन्धन बनेको हो । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन हो । अहिले दुई वटा विचार, प्रवृआिम्नेसामने भएका छन् । एउटा पश्चगमनतिर अर्को अग्रगमनतिर । एउटा संविधान मास्नेतिर, अर्को संविधानको रक्षा गर्नेतिर ।’

अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ की गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई लगायतका युवा नेतृत्व संसदमा पुगेको खण्डमा ऐन, कानून निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे ।