अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान



कैलाली । पछिल्लो समय कैलालीको अत्तरिया चोक व्यवस्थित बन्दै गएको छ । गोदावरी नगरपालिका स्थित उक्त चोक  निर्माणको लागि नगरपालिकाले थप आवश्यक संरचनाको निर्माण थालेसँगै चोक थप व्यवस्थित बन्दै गएको हो । 

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत घोषणा भएको उक्त नगरपालिकाभित्र क्षेत्रलाई व्यवस्थापनका लागि विभिन्न योजना अघि सारिएको छ ।  हालै नगरपालिकाले चोकमा ‘हाइमास्ट लाइट’ जडान गरेको थियो । रातिको समयमा यात्रु तथा व्यापारीलाई आवतजावतका साथै व्यापारिक सुरक्षाका लागि पनि चुनौती रहेको जनाउँदै नगरपालिकाले उक्त लाइट जडान गरेको हो । उक्त लाइटले चोरी डकैतीका घटनाहरु कम गर्नुका साथै दुर्घटनाका घटनाहरु पनि कम हुने नगरपालिकाले जनाएको छ । ७२ सय वाटको उक्त ‘लाईट टाईम’ सेट गरेपछि आफै खुल्ने र बन्द हुने प्रविधिको छ । 


अत्तरिया चोकमा  ‘डिस्प्ले’ बोर्ड पनि राखिएको छ । उक्त डिस्प्लेमा नगरभित्रका मात्रै नभइ सुदूरपश्चिम प्रदेशभित्र रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रका तस्बिरका साथै यहाँका कला, संस्कृति जर्गेना गर्ने खालका तस्बिर देखिने जनाइएको छ । यसका साथै नगरपालिकाले उक्त चोकमा ‘वाटर फाउन्टिङ’ पनि जडान गरेको छ ।

वाटर फाउन्टिङले चोकको सुन्दरतामा अझ निखार ल्याउने अत्तरिया नगरप्रमुख वीरेन्द्र भट्टले बताए । “नगरकै मुख्य चोक, प्रदेशकै प्रवेशद्वारमा रहेको यस चोकलाई व्यवस्थित बनाउने हाम्रो योजना छ” उनले भने,“सोही अनुसार चोकमा हाइमास्ट लाइट,डिस्प्ले बोर्ड,वाटर फाउन्टिङ लगायतका सामग्री जडान गरेका छाँै, यसले चोकलाई पनि सुन्दर देखाउने छ भन्ने विश्वास लिएको छु ।”