२०/२१ सिटमा उम्मेदवारी दिएर देश बनाउँछु भन्नु बेकारको कुरा : महासचिव पोखरेल



दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभामा एकतिहाई र त्यो भन्दा कम सिटमा उम्मेदवारी दिने दलहरूले देश बनाउँछु भन्नु जनतामा भ्रम छर्ने काम मात्र भएको बताएका छन् ।

महासचिव पोखरेलले माओवादी केन्द्रले एकतिहाई र नेकपा एकीकृत समाजवादीले २०/२१ सिटमा उम्मेदवारी दिएर देश बनाउँछु भन्नु बेकारको कुरा भएको बताएका हुन् ।


बुधबार दाङको हापुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले गठबन्धन स्वार्थको सम्झौता भएको र यसबाट देश बनाएको दुनियाँमा कहीँ नभएको बताए । उनले देश बनाउन नीतिगत स्पष्टता चाहिने भन्दै त्यो एमालेसँग मात्र भएको जिकिर गरे ।

उनले निर्वाचनपछि एमालेको सरकार गठन गरी अधुरा रहेका विकासका काम पूरा गर्ने बताउँदै हापुरलाई पर्या–पर्यटनका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए ।