सशस्त्रका डीएसपी गैरेलाई ‘बेष्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’ अवार्ड



काठमाडौँ । सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश गैरेले ‘बेष्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्राप्त गरेका छन् । एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा सञ्चालित छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा उनी सर्वोत्कृष्ट भएका हुन् ।

उनलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधबार आयोजित दीक्षान्त समारोहमा महानिरीक्षक राजु अर्यालले उक्त अवार्ड प्रदान गरे । सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. कुशुम शाक्यले सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश गैरेलाई ‘वेष्ट एकेडेमिक अवार्ड’ पनि प्रदान गरे ।


यस्तै रिसर्चतर्फ प्रथम भएका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषबहादुर सिंहले ‘बेष्ट रिसर्च अवार्ड’ प्राप्त गरे । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सो अवसरमा उक्त कोर्ष सफलतापूर्वक सम्पन्न गरेका मध्यम तहका एपीएफ अधिकृतहरूलाई बधाई दिँदै सांगठानिक जिम्मेवारी निर्वाहको क्रममा पूर्ण व्यवसायिक भई कुशलतापूर्वक क्षमता र दक्षता प्रदर्शन गर्न निर्देशन दिए ।

उनले दीक्षित अधिकृतहरूले यस कोर्षबाट प्राप्त गरेका ज्ञान, सीप, कला र कौशललाई सदुयोग गर्दै सांगठानिक विकासमा इमानदार र कर्तव्यनिष्ठ भई सकारात्मक सोचका साथ उत्कृष्ट कार्यसम्पादन गर्नेतर्फ क्रियाशील रहनुपर्ने बताए ।

२०७८ जेठ १६ गतेबाट सञ्चालन भएको सो कोर्षमा २ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, ३ जना सशस्त्र प्रहरी उपरीक्षक र ५ जना सशस्त्र प्रहरी नायब उपरीक्षकसहित कुल १० जना अधिकृतहरूको सहभागिता रहेको थियो ।

सो कोर्षमा सहभागी अधिृकतहरूलाई स्टाफ ड्युटिज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व तथा व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना, स्वदेश तथा विदेश शैक्षिक भ्रमणलगायतका विविध विषयहरूमा सम्बन्धित विषयका विज्ञहरूद्वारा अध्यापन गराइएको कुरा त्यस अवसरमा जानकारी गराइएको थियो ।