सञ्चारमन्त्री कार्कीद्वारा सुनसरी-४ मा मनोनयन दर्ता



इनरुवा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभा सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसको तर्फबाट सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत तथा सुनसरी क्षेत्र नं ४ समेत निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम इनरुवामा पुगी उनले आफ्नो मनोनयन दर्ता गराएका हुन् । बजागाजासहित मन्त्री कार्कीले उमेदवारी दर्ता गराएका हुन् ।


त्यसैगरी सुनसरी क्षेत्र नं ४ (क) बाट सदानन्द मण्डल र ४ (ख) बाट हाजी इसराइल मंसुरीले उमेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नं ४ मा १ नं प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वतारणमन्त्रीसमेत रहेका जगदीशप्रसाद कुसियैतले उमेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी सुनसरी क्षेत्र नं ४ (क) मा जसपाबाट पर्शुराम बस्नेत र क्षेत्र नं ४ (ख) बाट अब्बास अन्सारीले उमेदवारी दर्ता गराएका छन् ।