शीतयुद्धपछि पहिलो पटक आणविक ‘युद्ध’ को खतरा : बाइडेन



अमेरिकी राष्ट्रपति जो बाइडेन शीतयुद्धपछि पहिलो पटक विश्वले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको र युक्रेन द्वन्द्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कसरी युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेको बताएका छन् ।

“सन् १९६२ मा केनेडी र क्युबाको क्षेप्यास्त्र सङ्कटपछि हामीले ‘आणविक युद्ध’को सम्भावनाको सामना गरेका छैनौं,” पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई उद्धृत गर्दै बाइडेनले न्युयोर्कमा आयोजित डेमोक्र््याटिक पार्टीको आर्थिक सङ्कलन कार्यक्रममा भने । पुटिनले युक्रेनमाथि आक्रमण गर्न आणविक हतियार प्रयोग गर्ने धम्की दिंदा पुटिनले ‘ठट्टा’ नगरेको बाइडेनले बताएका छन् ।


राष्ट्रपति पुटिनको आणविक धम्कीका कारण सिर्जित जोखिमबारे बोल्दै र ६० वर्षअघि सोभियत सङ्घले क्युबामा क्षेप्यास्त्र तैनाथ गरेपछि उत्पन्न आणविक गतिरोधलाई सङ्केत गर्दै उनले भने, “क्युबाको क्षेप्यास्त्र सङ्कटपछि पहिलो पटक आणविक हतियारको प्रयोगबाट हामीलाई प्रत्यक्ष खतरा छ ।” बाइडेनले भने, “हामी पुटिनको युद्ध अन्त्य रणनीतिबारे पत्ता लगाउने प्रयास गरिरहेका छौं ।“

पुटिनले युक्रेनी भूमि कब्जा गर्ने प्रयासमा विकल्पहरू समाप्त भएको महसुस गरेमा आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् । विज्ञहरूका अनुसार यी आक्रमणहरू तुलनात्मक रूपमा साना र रणनीतिक आक्रमणहरू हुनेछन् । तर बाइडनले सीमित क्षेत्रमा हुने यस्ता आक्रमणले अझै व्यापक द्वन्द्व निम्त्याउने चेतावनी दिएका छन् ।

बाइडेनले भने, “हामीले राम्रोसँग चिनेका छौं । पुटिनले ‘सामरिक आणविक हतियार वा जैविक वा रासायनिक हतियारको सम्भावित प्रयोगको बारेमा कुरा गर्दा ठट्टा गर्दैनन् ।”