माधव नेपालविरुद्ध प्रहरीले अनुसन्धान गर्न पाउँछः प्रमुख निर्वाचन आयुक्त



काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले उम्मेदवार र राजनीतिक दललाई कानुनको पालना गर्न आग्रह गरेको बताएका छन् ।

शुक्रबार विराटनगरमा प्रदेश एक स्तरीय मिडिया अभिमुखीकरणको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले आचारसंहिताको पालना किन भएन भनेर स्पष्टीकरण सोध्दा कोकोहोलो मच्याउन आवश्यक नरहेको बताएका हुन् ।


राजनीतिक दलका नेताहरू आफैँले पालना गर्छु भनेर दस्तखत गरेको निर्वाचन आचारसंहिताको पालना नगर्नेहरू कारबाहीको भागिदार हुने उनले बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिएको विषय थपलियाले यो कारबाही गर्ने विषय आयोगको नभई प्रहरीको भएकाले पत्राचार गरेको बताए । उनले भने, ‘आयोगमा निवेदन आयो। अनुसन्धान गर्न प्रहरीलाई लेखी पठाएको हो। आयोगले कारवाही गरेको होइन। यो अनुसन्धान गर्ने विषय प्रहरीको हो । प्रहरीले अनुसन्धान गर्नुपर्छ र उसले गर्न पाउँछ ।’

उनले चुनावलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको बताए ।