मनाङबाट प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै



पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ( दीपक मनाङे) निर्विरोध निर्वाचित हुने भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका मनाङेसँग उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएसँगै मनाङे निर्विरोध निर्वाचित हुने भएका हुन् । यसको औपचारिक घोषणा भने भइसकेको छैन ।

दिउँसो ३ बजेसम्म उमेदवारी फिर्ता लिने समय तोकिएकोमा गुरुङले बिहान १० बजे आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले जानकारी दिए । निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उमेदवारी फिर्ता भएको सूचना निकाल्नेछ ।


उनको उम्मेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनेछन् । मनाङेलाई आफ्नो दलमा ल्याउन उक्त क्षेत्रमा नेकपा (एमाले) तथा सत्ता गठबन्धनका अरू दलले आफ्ना उम्मेदवारी उठाएका थिएनन् ।