बारा बस दुर्घटनाका मृतक र घाइतेका परिवारलाई राहत दिन अध्यक्ष दाहालको आग्रह



काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको जीतपुर–सिमरा सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा ठूलो सङ्ख्यामा धनजनको क्षति भएको घटनाले स्तब्ध बनेको जनाएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले दुर्घटनाका मृतकमा श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक परिवार र घाइतेलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न सम्बन्धित निकायसँग अनुरोध गरेका छन् । सो दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो । उनले देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको र केही दिन निरन्तर वर्षा हुने मौसम विभागले सतर्कता सूचना जारी गरेको स्मरण गराउँदै आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् ।


अध्यक्ष दाहालले सम्पूर्ण पार्टी पङ्क्तिलाई प्राकृतिक प्रकोपका घटनामा राहत, उद्धार तथा अन्य सबै किसिमको सहयोगका लागि तत्पर रहन निर्देशन दिएका छन् ।