बङ्गलादेशमा चार हजारभन्दा बढी विपक्षी कार्यकर्तामाथि कारबाही



बङ्गलादेशमा हजारौँ पार्टी कार्यकर्तामाथि हिंसाको ‘नक्कली’ आरोप लगाई सरकारले विपक्षी दलहरूलाई व्यापक दमन गरेको छ । प्रधानमन्त्री शेख हसिनाका आलोचकहरूले हालैका महिनाहरूमा विद्युत कटौतीको विरोधमा र तटस्थ कामचलाउ सरकारको नेतृत्वमा निर्वाचनको माग गर्दै देशभर प्रदर्शन गरेका छन् । केही प्रदर्शनहरू हिंसात्मक भएका छन् ।

विपक्षी ‘बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)’ का प्रवक्ता सैरुल कबिर खानले अगस्ट २२ यता प्रहरीले कम्तीमा चार हजार ८१ जना पार्टीका समर्थक र नेतालाई हिंसाको आरोपमा मुद्दा चलाएको बताएका छन् । अन्य २० हजार अज्ञात बीएनपी समर्थकहरूलाई पनि विभिन्न मुद्दामा दोषी भएको आरोप लगाइएको छ ।


उनले भने, “अधिकारकर्मीहरूले कुनै पनि विपक्षी समर्थकहरूलाई उत्पीडन गर्न पुलिसलाई व्यापक शक्ति दिने रणनीति अख्तियार तय गरेको छ । विपक्षी कार्यकर्ता तथा समर्थकलाई प्रदर्शनमा भाग लिनबाट रोक्ने बलियो विकल्पका रूपमा सरकारले प्रहरीलाई प्रयोग गरेको छ ।” खानले एएफपीलाई दिएको जानकारीअनुसार प्रदर्शनका क्रममा पाँच कार्यकर्ताको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी घाइते भएका छन् ।

बीएनपीको सडक प्रदर्शनमा मुख्यतः सत्तारुढ अवामी लिगका कार्यकर्ताले हिंसात्मक आक्रमण गर्दा प्रहरीले हस्तक्षेप गरेको थिएन, तर यदि हामीले प्रतिकार ग¥यौं भने उनीहरूले प्रतिक्रिया जनाउने गरेका थिए । “प्रहरी तटस्थ शक्ति होइन,” खानले भने । प्रहरीका अनुसार कम्तीमा तीन वटा प्रदर्शनमा चार जनाको मृत्यु भएको छ तर विपक्षीले हिंसा भड्काएको आरोप लगाएको छ ।

न्यूयोर्कस्थित मानव अधिकार अनुगमनकारी संस्थाले सोमबार ‘विपक्षी दलका सदस्यको घरमा प्रहरीले व्यापक गिरफ्तारी र छापा मारेको’ भन्दै चिन्ता व्यक्त गरेपछि खानको यो टिप्पणी आएको हो । एचआरडब्ल्यूकी दक्षिण एसिया निर्देशक मीनाक्षी गाङ्गुलीले सन् २०२३ को डिसेम्बरमा हुन लागेको संसदीय चुनावका लागि यो अशुभ सङ्केत भएको बताइन् ।

गत डिसेम्बरमा संयुक्त राज्य अमेरिकाले सयौं बलपूर्वक बेपत्ता पारिएका र हजारौं गैरन्यायिक हत्यामा संलग्न भएको आरोपमा बङ्गलादेशका सात शीर्ष सुरक्षा अधिकारी र विशिष्ट ‘¥यापिड एक्सन बटालियन’माथि प्रतिबन्ध लगाएको थियो । सरकारले विपक्षी समर्थक र नेताहरूलाई जबर्जस्ती बेपत्ता पार्नुमा आफ्नो हात रहेको भन्ने दावीलाई अस्वीकार गरेको छ र अधिकारीहरूसँगको मुठभेडमा धेरै अपराधीहरू मारिएको बताएको छ ।

सन् २००९ देखि सत्तामा रहेको सरकारले अमेरिकी प्रतिबन्धको धेरै हदसम्म अवहेलना गरेको र गत महिना प्रतिबन्धित एक अधिकारीलाई राष्ट्रिय प्रहरी प्रमुखमा पदोन्नति गरेको छ । बङ्गलादेशी प्रहरीका प्रवक्ता मोन्जुर रहमानले अधिकारीहरूले विपक्षी कार्यकर्ताहरूलाई लक्षित गरेको भन्ने आरोपको खण्डन गर्दै भने, “बलले देशका प्रत्येक नागरिकको अधिकारको सम्मान गर्दछ र ‘कानूनी व्यवस्थाको प्रत्याभूत गर्न’ मात्र हस्तक्षेप गरेको थियो ।”