पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाँदै



पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ यही कात्तिक १५ गते चीन भ्रमणमा जाने भएका छन् । आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा उनी दुईदिने भ्रमण गर्न लागेका हुन् । बेइजिङमा रहँदा उनले राष्ट्रपति सी चिनफिङलाई भेट्नेछन् भने र प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।

विदेशमन्त्री बिलावल भुट्टो जरदारीलगायत उच्चस्तरीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री सरिफले चीन भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । “प्रधानमन्त्रीले राष्ट्रपति सीलाई भेट्ने र प्रधानमन्त्री ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । दुवै पक्षले आपसी चासोका सबै विषयमा छलफल गार्नाका साथै रणनीतिक सहयोग एवम् साझेदारीको समीक्षा गर्नेछन् । पाकिस्तान र चीनले क्षेत्रीय र विश्वव्यापी विकासका बारेमा विचार पनि आदानप्रदान गर्नेछन्,” पाकिस्तानी विदेश मन्त्रालयले भ्रमणबारे जानकारी दिँदै भनेको छ ।


विदेश मन्त्रालयले प्रधानमन्त्री शरीफको यो भ्रमण दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको निरन्तरता भएको पनि बताएको छ । द्विपक्षीय सहयोग अभिवृद्धि गर्न भ्रमण फलदायी हुने अपेक्षा पनि उक्त मन्त्रामन्त्रालयले गरेको छ । पाकिस्तान–चीन सम्बन्धलाई सुदृढ तुल्याउने सेतुका रूपमा बहुअर्ब डलरको चीन–पाकिस्तान आर्थिक करिडोर चिनियाँ सहयोगमा निर्माणाधीन छ । अन्य तीनवटा यस्तै परियोजना भित्र्याउने सोचमा पाकिस्तान रहेको र त्यस विषयमा चीनसँग पाकिस्तानले प्राथमिकताकासाथ छलफल गर्ने समाचार केही समयअघि सार्वजनिक भएका थिए ।

पाकिस्तानको प्रधानमन्त्री भएपछि शहबाजले पहिलोपटक चीन भ्रमण गर्दै छन् । चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनपछि चीन भ्रमण गर्ने पहिलो नेता पनि पाकिस्तानी प्रधानमन्त्री भएका छन् । महाधिवेशनले पार्टी महासचिवका रूपमा सीलाई तेस्रो कार्यकालका निम्ति चयन गरेको छ । महासचिवमा भएको निरन्तरतासँगै उनी चीनको राष्ट्रपतिको तेस्रो कार्यकालमा छन् ।

यसैबीच, पाकिस्तानीका प्रधानमन्त्रीले आफ्नो देश, जनता र स्वयम् आफ्नातर्फ राष्ट्रको राष्ट्रपति सी चिनफिङलाई सीपीसी महासचिवको रूपमा तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् ।