काठमाडौँ । आसन्न निर्वाचनका सिलसिलामा ६ व्यक्ति र ८ संस्थालाई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आयोगबाट स्पष्टीकरण सोधिएको हो ।
निर्वाचन आचारसंहिता उल्लंघनका सम्बन्धमा आयोगमा परेका उजुरीलगायत विषयमा स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
उनका अनुसार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोकुल वस्तीलाई स्पष्टीकरण सोधिएको छ ।
यस्तै, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे, प्रतिनिधिसभातर्फ नुवाकोट क्षेत्र नम्बर–१ बाट उमेदवार बनेका बद्री मैनालीलाई स्पष्टीकरण सोधिएको उनले बताए ।
यसैगरी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमतिबमोजिम मात्र कार्यसम्पादन गर्न तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, बिमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको उनले जानकारी दिए ।