त्रिशूली । निर्माणको १५ वर्षसम्म अलपत्र एवं अव्यवस्थित बनेको नुवाकोटको (बट्टार) बसपार्क सञ्चालनमा आएको छ । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नुवाकोटबाट काठमाडौँ जाने बसको चालकसहित यात्रुलाई यात्रा सफतालको कामनासहित बसपार्क सञ्चालनमा आएको औपचारिक घोषणा गरेका हुन् ।
उहाँका अनुसार निर्वाचित भएर आएसँगै नगरको कार्ययोजनाको प्राथमिकताको सूचीअन्तर्गत बसपार्क सञ्चालनका लागि निरन्तर एक महिनादेखिको सरोकारवालासँगको बैठकले गरेको निर्णयअनुसार कार्यान्वयनमा ल्याइएको हो ।
“बसपार्क सञ्चालनका लागि नगरपालिकाको आयोजनामा जिल्लाका सरोकारवाला पक्षसँग पटक–पटक बसेको बैठकको निर्णय र गत असोज ११ गतेदेखि मुख्य बजार क्षेत्रको सवारी पार्किङ व्यवस्थित बनाउन सुरु पछिको उपलब्धि हो”, नगरप्रमुख श्रेष्ठले भने, “निर्माण सम्पन्न भएर वर्षौंदेखि अलपत्र बनेको बसपार्क सञ्चालन गर्नुभन्दा निरन्तर चलाउनु चुनौती महसुस गरेका छौँ ।”
रसुवा र नुवाकोटको पहिलो र ठूलो समेत रहेको उक्त बसपार्क साविक पासाङह्ल्यामु राजमार्ग र हाल ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत अन्तर्राष्ट्रिय राजमार्गबाट दुई सय मिटरभित्र पर्दछ ।
“सुविधा सम्पन्न र बन्दोबस्तीले भरिपूर्ण भए पनि बजार क्षेत्र र मूल सडकबाट भित्र पर्ने भनेर अलपत्र छाड्न हुन्न ।” नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “करोडौँ लगानी भइसक्यो । देखिएका चुनौती हटाउन सबै पक्ष तयार भएर लागेका छौँ ।” यसअघि पनि बसपार्क सञ्चालनका लागि विभिन्न समयमा गरिएको प्रयास असफल भएकाले अब त्यस्तो हुन नदिने नगरप्रमुख श्रेष्ठले विश्वास दिलाए ।
बसपार्क सञ्चालनमा अएसगैँ अबदेखि नुवाकोटको विदुर नगरक्षेत्रमा त्रिशूली बसपार्क र बट्टार बसपार्कमा मात्रै टिकट काउन्टर राखिएको छ । रसुवा जाने यात्रुको हकमा मात्र ढुङ्गेमा सम्पर्क केन्द्र स्थापना गरिने भएको छ । यसअघि बजार क्षेत्रको त्रिशूली, ढुङ्गे, बट्टार, विदुर, पिपलटारलगायतका स्थानमा टिकट काउन्टर राखेर अव्यवस्थित बनेको सार्वजनिक यातायातका सेवा व्यवस्थित र सवारी दुर्घटना न्यूनीकरण गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख गुणनिधि खकुरेलले बताए ।
बसपार्क सञ्चालनका क्रममा उत्पन्न समस्या समाधानका लागि नगरप्रमुख श्रेष्ठसहित उपप्रमुख प्रभा बोगटी, वडा नं. १ का अध्यक्ष लेनिन रञ्जित, २ का अध्यक्ष दीपक कायस्थ, ४ का अध्यक्ष नीलमबाबु ढुङ्गेललगायतका जनप्रतिनिधि र कर्मचारीले दैनिकरूपमा अनुगमन तथा निरीक्षण गरेर प्रतिवेदन तयार गर्ने भनिएको छ ।
भौतिक पूर्वाधार पर्याप्त
विसं २०६४ देखि निर्माण सुरु भएको बसपार्कको सञ्चालनपूर्व नै आवश्यक भौतिक पूर्वाधारले पूर्ण बनाइएको छ । विदुर नगरपालिकामार्फत बसपार्कका लागि आवश्यक टर्मिनलसहितको भवन निर्माण, पानी, शौचालय, विद्युत्, विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन (निर्माणको अन्तिम चरणमा) टेलिफोन, इन्टरनेट, नेपाल प्रहरीको चौकी स्थापनासहित नगर प्रहरीबाट सुरक्षा प्रबन्ध मिलाइएको नगर उपप्रमुख बोगटीले जानकारी दिए ।
बजार क्षेत्रमा चढाउने र ओराल्ने मात्र
करोडौँ रुपैयाँ लगानीमा निर्माण गरेर बसपार्क अलपत्र हुनुमा मूल सडकबाट दुई सय मिटर र बजार क्षेत्रबाट एक किलोमिटरभित्र पर्ने भएकाले यातायात समिति र स्थानीय व्यवसायीलाई बाधकका रूपमा लिइन्थ्यो । तर निरन्तरको छलफलपछि उनीहरूकै सहयोगमा बसपार्क सञ्चालनमा आएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।
अबदेखि यातायात व्यवसायीले सार्वजनिक यातायातका साधन बसपार्कभित्र लैजानुपर्ने र त्यहाँ १५ मिनेट रोक्नुपर्ने, बजार क्षेत्रमा रहेका टिकट काउन्टर सबै बसपार्कभित्रै राख्नुपर्ने, बसपार्कभन्दा बाहिर यात्रुलाई चढाउने र ओराल्ने सुविधा मात्र उपलब्ध हुने (यात्रुलाई कुरेर बस्न नपाइने) भनेर गरिएका निर्णयको पूर्ण पालना हुनेछ ।
नगर क्षेत्रका बजारमा यही असोज ११ गतेदेखि सार्वजनिक यातायातका साधन जथाभावी पार्किङ गर्न तथा बजार पसल एवं ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाइएको छ । उक्त व्यवस्थालाई पनि अब थप कडाइ गरिने भएको छ ।
विदुर नपा–४ स्थित बट्टारमा निर्माण गरिएको बसपार्क विसंं २०६४ मा रु ७७ लाख लगानीमा तयार गरिएको थियो । त्यसपछि हरेक वर्ष आवश्यक पूर्वाधार थप गर्दै रु एक करोड ५० लाखभन्दा बढी लगानी त्यसपछिका वर्षमा खर्चिएको पाइन्छ । करोडौँ रुपैयाँ पर्ने जग्गा अधिकांश दाताबाट निःशुल्क र केही मुआब्जा (खरिद)बाट प्राप्त गरेको बसपार्कको भूगोल ३६ रोपनीमा फैलिएको छ ।