दश जनाले पूरा गरे एपिएफ कमाण्ड कोर्स



काठमाडाैँ । सशस्त्र प्रहरीका १० कर्मचारीले एपिएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौँमा सञ्चालित छैटौँ एपिएफ कमाण्ड तथा स्टाफ कोर्स पूरा गरेका छन् । प्रहरी कर्मचारीको परिचालनका लागि उक्त कोर्स महत्वपूर्ण मानिन्छ ।

विसं २०७८ जेठ १६ गतेदेखि सञ्चालन भएको उक्त कोर्समा दुई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, तीन सशस्त्र प्रहरी उपरीक्षक र पाँच जना सशस्त्र प्रहरी नायब उपरीक्षकको सहभागिता थियो । उनीहरुलाई आज एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दीक्षित गराए ।


उक्त कोर्समा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश गैरेलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्स अवार्ड’ र रिसर्चतर्फ प्रथम भएका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषबहादुर सिंहलाई ‘वेष्ट रिसर्च अवार्ड’ प्रदान गरे । सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा डा कुशुम शाक्यले सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश गैरेलाई ‘वेष्ट एकेडेमिक अवार्ड’ प्रदान गरे ।

उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले साङ्गठानिक जिम्मेवारी निर्वाहका क्रममा पूर्ण व्यावसायिक भई कुशलतापूर्वक क्षमता र दक्षता प्रदर्शन गर्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले दीक्षित अधिकृतलाई यस कोर्सबाट प्राप्त गरेका ज्ञान, सीप, कला र कौशललाई सदुयोग गर्दै साङ्गठानिक विकासमा इमान्दार र कर्तव्यनिष्ठ भई सकारात्मक सोचका साथ उत्कृष्ट कार्यसम्पादन गर्नेतर्फ क्रियाशील हुन पनि आग्रह गरे ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा डा शाक्यले सङ्गठन र राष्ट्रका लागि दक्ष अधिकृत उत्पादनमा एपिएफ कमाण्ड तथा स्टाफ कोर्स कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । सो कोर्समा सहभागी अधिृकतलाई स्टाफ ड्युटिज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व तथा व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना, स्वदेश तथा विदेश शैक्षिक भ्रमणलगायतका विविध विषयमा विज्ञले प्रशिक्षण दिनुभएको थियो ।