ढुवानीका लागि उपल्लो डोल्पामा चौपायाकै भर



जाजरकोट । डोल्पाका शे–फोक्सुण्डो गाउँपालिका–४ का पेमा साङ्मो लामाको दुई सिट (१४वटा) खच्चड, चौँरी रहेका छन् । उहाँले खच्चड र चौँरीले दैनिक सदरमुकाम दुनैबाट आवश्यक खाद्यान्नलगायतका अन्य सामग्री बोकेर शे–फोक्सुण्डोका अन्य पालिकामा ढुवानी गर्दै आएका छन् ।

उकालो बाटोका साथै अधिकांश ठाउँमा काठबाट निर्माण गरिएका पुलबाट खोला पार गर्दै उपल्लो डोल्पामा खाद्यान्न दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपरेको लामाको भनाइ छ । दिन, रात नभनी खच्चड र चौँरीसँग आवश्यक सामग्री बोकेर हिँड्नुपरेको लामाको दुखेसो छ । चैत महिनाबाट सुरु भएको यो ढुवानी कार्य कात्तिकको अन्तिमसम्ममा मात्र हुने उनको भनाइ छ ।


चिसो बढेसँगै ढुवानी कामसमेत बन्द हुन्छ । उनी भन्छन्, “दुःख गर्ने हो भने जहाँ पनि पैसा छ, खच्चड र चौँरीसँग हिँड्दा, हिँड्दा उनीहरुका आनीबानी सबै थाहा भइसक्यो, मेरो पनि उनीहरुले थाहा पाइसके ।” पाँच वर्ष पहिले जाजरकोटको बगराबाट खच्चडमा सामग्री ढुवानी गरेर उपल्लो डोल्पा पु¥याएको दुःख शब्दमा सुनाउनै नसकिने भएको लामाको पीडा छ ।

“सडक अलि माथि सर्दैछ, हामी पनि माथि सर्दैछौँ”, अर्का खच्चड व्यवसाय गरेका डोल्पोबुद्ध गाउँपालिका–४ का लिसेन गुरुङले भने । उनले थपे, “तपाईंहरु दुई दिन लगाउने बाटोमा हामी आधा दिनमै पुग्छौँ, त्यो हाम्रो बाध्यता हो । त्यसरी काम नगर्दा हामीलाइ तोकिएको काम गर्न मुस्किल हुने गर्छ ।”

दिनरात गरेर गन्तव्यमा पुग्नुपर्छ । अन्य मानिस निदाइरहेका हुन्छन् । “हामी बिहान ३ बजे उठेर खच्चड र चौँरीलाई दाना दिइ हिँड्नुपर्छ”, उनले थपे । चिसो मौसम, ओडारमा खानेकुरा पकाएर खानुपर्ने बाध्यता भएको सुनाउँदै उनले ढुङ्गा आउने डरसमेत उत्तिकै हुने बताए ।

सदरमुकाम दुनैबाट उपल्लो डोल्पामा निर्माणका सामग्रीदेखि अन्य खाद्यान्न हुँदै कपडासम्म खच्चडमा ढुवानी गरेर जिविका चलाउनु रहर नभई बाध्यता भएको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले बताए । सामानको मूल्यभन्दा ढुवानीको मूल्य बढी हुने भएकाले उपल्लो डोल्पामा कुनै पनि सामग्री छोइ नसक्नु महङ्गो रहेको अध्यक्ष गुरुङको भनाइ छ । दुई वर्षअघिसम्म उपल्लो डोल्पामा सञ्चार सुविधा थिएन, कहाँ के, हुन्छ भन्ने जानकारी लिन महिना दिन नै पर्खनुपर्ने बाध्यता थियो । पछिल्लो दुई वर्षमा केही मोबाइल टावर जडानसँगै उपल्लो डोल्पाका ४० प्रतिशत भागका सर्वसाधारणले सञ्चार सेवा उपभोग गर्न पाएका छन् ।

पशुपालन व्यवसायलाई मुख्य पेशा बनाएका यहाँका सर्वसाधारणले अधिकांश चौपाया खाद्यान्न ढुवानी गर्ने काममा प्रयोग हुँदै आएको बताइन्छ । दुनैबाट हिँडेको व्यक्ति कहाँ पुग्यो, अत्तोपत्तो नहुने अवस्था अझैँ पनि कायम छ । आफ्नो तौलभन्दा बढी सामग्री बोकेर दैनिक जिन्दगी जिउने काम कम आँक्न नसक्नी यहाँका अधिकांश सर्वसाधारणको भनाइ छ ।

बिरामी हुँदासमेत समयमै उपचार नपाउने अवस्था उपल्लो डोल्पामा रहेको छ । दुनैबाट ढुवानी गरेर लिएको औषधि सकिनबित्तिकै तत्काल नपाउने भएकाले भगवानको भरोसामा स्वास्थ्यसँग ज्ञान भई स्थानीय जडीबुटीको प्रयोग गर्दै उपचार गर्दै आम्ची पेशा गर्दै आउनुभएका डोल्पोबुद्ध गाउँपालिका–५ का पौटोन गुरुङले बताए ।

उनका अनुसार आम्ची नै उपल्लो डोल्पाको उपयुक्त उपचार गर्ने खास डाक्टर हुन् । मङ्सिर महिनादेखि उपल्लो डोल्पामा रहेका प्रहरी चौकीसमेत चिसोका कारण दुनै झर्ने गर्दछन् । कर्मचारी र जनप्रतिनिधिसमेत चिसो छल्न दुनै, काठमाडौँलगायतका ठूला सहरमा गइसकेका हुन्छन् । मङ्सिरको पहिलो साताबाट चैतसम्म उपल्लो डोल्पाका अधिकांश गतिविधि चिसोका कारण ठप्प हुने गर्दछन् ।

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पाको सडक निर्माण गरेर हौसियका डोल्पावासी दुनैबाट उपल्लो डोल्पासम्मको सडक निर्माणको जिम्मेवारी पनि सेनालाई नै दिनुपर्ने यहाँका स्थानीयले बताउँदै आएका छन् ।

सेनाले काम गर्दा छिटोछरितो हुने भएकाले आफूहरुको माग सेनासँग सहकार्य गरेर बाटो बनाउने नै भएको उनीहरुले बताउँदै आएका छन् ।

जिल्ला समन्वय समितिबाट निर्णय नै गरेर सेनालाई बाटो निर्माणको जिम्मेवारी दिनुपर्ने माग डोल्पाका बासिन्दाको छ । उपल्लो डोल्पाका तीन पालिकाले दुई वर्षअघि नै बाटो बनाउनका लागि सेनाको आवश्यकता महसुस गर्दै कार्यपालिकाबाट निर्णय गरी डोल्पाका सांसदहरुलाई जानकारीसमेत गराएका थिए ।