डेंगुका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो, ४३ हजारभन्दा बढी संक्रमित



काठमाडौँ । पछिल्लो समय नेपालमा डेंगु  संक्रमणका कारण मृत्यु हुनेको संख्या थपिँदै गएको छ । डेंगुका कारण यो वर्षको साउनयता हालसम्म ५२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

डेंगु रोग हाल सात प्रदेशका ७७ वटै जिल्लामा फैलिएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ४३ हजार ६८५ जना डेंगु संक्रमित भएका छन् । हाल सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् ।


डेंगु मानिसबाट मानिसमा सर्ने रोग भने होइन । यो एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरूको टोकाइबाट सर्ने गर्छ । त्यसैले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने मन्त्रालयले जनाएको छ ।