काठमाडाैँ । चान्द्र मासअनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवतको नयाँ वर्ष ११४३ आज विभिन्न कार्यक्रम गरी विभिन्न ठाउँमा मनाइएको छ ।
राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामना र्याली निकालिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा मौलिक वेषभूषासहित सांस्कृतिक झाँकी युक्त शुभकामना र्याली निकालिएको थियो ।
यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुआत गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।
लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि नेपाल संवत् सुरु भएको थियो । पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा नेपाल संवत् चलेको थियो । लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत् समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं २०५६ को नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ ।