विराटनगर । छठ’ पर्वमा घाट बनाएर पूजापाठ गर्न विराटनगर महानगरपालिकाले नगर क्षेत्रको नहरलाई सफाइ अभियान सञ्चालन गरेको छ ।
दुर्गन्ध एवं फोहररहित बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले नहरको सफाइ गरिरहेको र यसबाट भक्तालुलाई पूजापाठ गर्न सहज हुने बताइएको छ । विराटनगरमा जलाधार क्षेत्र सिङ्घिया नदी, केशल्या नदी तथा नहरमा वर्षेनी ‘छठ’ पर्वमा हजारौँ भक्तजनले आकर्षक घाट बनाएर पूजापाठ गर्दै आएका छन् ।
सुनसरी–मोरङ सिँचाइ आयोजनाको सहकार्यमा महानगरले नहरको सफाइ सुरु गरेको हो । महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए । बिहान ६ बजेदेखि नै सफाइ सुरु हुने गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । एउटा जेसिवीले खार्जीदेखि जामुनगाछीसम्म र अर्को जेसिवीले जामुनगाछीदेखि रानीसम्म सफा गर्नेछ ।
छठ पर्वमा भक्तजनले नहरमा मण्डप बनाएर पूजा गर्ने गर्छन । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरले विराटनगरको वडा नं ४, ५, ६, ११, १२, १६ लगायतका वडा समेटेको छ।