काठमाडौँ । वार्षिकरूपमा ठूलो मात्रामा जुत्ताचप्पल चोरी पैठारी हुँदा स्वदेशी जुत्ताचप्पल व्यवसायी मारमा परेका छन् । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशन अफ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी वार्षिक दुई करोडभन्दा बढी जोर जुत्ताचप्पल चोरी पैठारी हुँदा नेपाली व्यवसायीले समस्या भोग्नुपरेको बताएको हो ।
पत्रकार सम्मेलनमा एशोसियशनका अध्यक्ष नानीराज घिमिरेले चोेरी पैठारीबाट करोडौँ जोर जुत्ताचप्पको आयात हुँदा नेपालमा उत्पादित जुत्ताचप्पलले बजार पाउन छाडेको बताए ।
“देशको मागलाई धान्न सक्नेगरी नेपालमा जुत्ताचप्पल उत्पादन गर्नसक्ने क्षमताको विकास भइसकेको अवस्थामा अनियन्त्रितरूपमा दक्षिणतिरको खुला सीमाबाट चोरी पैठारी र न्यून बिजकीकरणका कारण नेपाली व्यवसायी मारमा परेका छन्”, उनले भने ।
एशोसियशनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा पाँच करोड ६५ लाख जोर जुत्ताचप्पल उत्पादन भएको थियो भने विदेशबाट दुई करोड ५९ लाख ८७ हजार एक सय ६३ जोर आयात भएको थियो । यस्तै दुई करोड २५ लाख १२ हजार आठ सय ३७ जोर जुत्ताचप्पल चोरी पैठारीबाट आएको छ ।
एक तिहाइ महिलासहित करिब ५५ हजार श्रमिक कार्यरत रहेको जुत्ताचप्पल उद्योग नेपालमा एक हजार पाँच सयभन्दा बढी रहेको अध्यक्ष घिमिरेको भनाइ छ । आर्थिक वर्ष २०७८/०७९ मा नेपालबाट एक अर्ब ८८ लाख ३४ हजार एक सय १७ बराबरको जुत्ताचप्पल निर्यात भएको थियो ।
एशोसियशनका उपाध्यक्ष सुरज बञ्जाडेले ३० अर्ब व्यवसायीको लगानी र चार अर्बभन्दा माथि बैंक लगानी रहेको नेपालको जुत्ताचप्पल क्षेत्रलाई बचाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
उनले भन्सार नाकामा गस्ती बढाउनका साथै सीमा नाका रहेका जिल्ला प्रशासन प्रमुखलगायत राजस्व अनुसन्धान कार्यालयले बढी सक्रियताका साथ चोरीपैठारी नियन्त्रणमा लाग्नुपर्ने बताए ।
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नका लागि सबै सरकारी निकायमा कार्यरत कर्मचारीले अनिवार्यरूपमा नेपालमा उत्पादित जुत्ताचप्पल प्रयोग गर्न एशोसियशनले आग्रह समेत गरेको छ ।