चितवनमा नमूना मतदान, मतपत्र सानो भएकाले मतदान गर्न सहज



चितवन । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनमा नमूना मतदान गरिएको हो । निर्वाचनमा प्रयोग हुने निर्वाचन चिह्न बाहेकका चिह्न प्रयोग गरी छापिएको नमूना मतपत्रमा मतदान गरिएको हो । 

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले संयुक्त रूपमा मतदान गरेर नमूना मतदानको आरम्भ गरेका थिए । पहिलो हुने निर्वाचन प्रक्रियाअन्र्तगत प्रतिनिधि सभा र प्रदेश सभा एवं समानुपातिकतर्फको मतपत्रमा मतदान गरिएको हो । मतदानपछि प्रतिक्रिया दिँदै मुख्य निर्वाचन अधिकृत थापाले वास्तविक मतदानका लागि समय कति लाग्छ र जटिलता कति हुन्छ भन्ने मापन गर्नका लागि पनि नमूना मतदान गरिएको बताए । प्रत्यक्षदर्शीलाई सिकाउनका लागि नमूना मतदान गरिने उनले बताए ।


उनले भने, ‘मतपत्र सानो भएकाले असहज छैन । तीन मिनेट ३० सेकेण्डमा मतदान सकेको छु ।’ स्थानीय तहको निर्वाचनभन्दा अहिलेको निर्वाचन सहज रहेको उनको भनाइ थियो । व्यवस्थापनमा लाग्ने कर्मचारी चनाखो हुन सकेमा खासै समस्या नआउने उनले बताए । यसपालि जति उम्मेदवार त्यति चिह्न भएको मतपत्र आउने भएकाले बदर हुने समस्या न्यून रहने थापाले बताए । 

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले समानुपातिक मतपत्र ठूलो हुने भएकाले केही असहज भए पनि प्रत्यक्षतर्फ सानो मतपत्र हुने भएकाले सहज हुने बताए । स्थानीय तहको निर्वाचनमा एउटै मतपत्रमा सात छाप लगाउनुपर्ने हुँदा मतदाता झुक्किने भए पनि अहिले एउटा मतपत्रमा एउटा छाप लगाउँदा मतदातालाई सहज हुने उनको भनाइ थियो । निर्वाचन आयोगले निर्वाचनको प्रशिक्षण प्रशिकलाई तयारीका लागि नमूना मतदान गरिएको उनले जानकारी दिए । 

जिल्लामा अहिले चार लाख आठ हजार तीन ४२ मतदाता रहेका छन् । जसमध्ये महिला मतदाताको संख्या पुरुषको भन्दा बढी रहेको छ । दुई लाख नौ हजार तीन सय नौ मतदाता महिला रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमशेन कार्कीले जानकारी दिए । कार्कीका अनुसार जिल्लामा १६२ मतदानस्थलमा चार सय ६० केन्द्रबाट मतदान हुँदैछ । 

क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५ मतदाता रहेका छन् । जहाँ ५६ मतदानस्थल र एक सय ५९ केन्द्रबाट मतदान हुँदैछ । क्षेत्र नम्बर २ मा रहेका एक लाख २४ हजार दुई सय १४ मतदाताले ४३ मतदानस्थलमा रहेका १३८ केन्द्रबाट मतदान गर्ने छन् । यस्तै क्षेत्र नम्बर ३ मा ६३ मतदानस्थलका एक सय ६३ मतदान केन्द्रबाट एक लाख ४४ हजार दुई सय ८३ मतदाताले मतदान गर्ने कार्कीले बताए ।