चाडबाडमा किनमेल गर्नेको भीड



वेदकोट । नेपालीको महान् चाड तिहारले कञ्चनपुरका सानाठूला बजारमा चहलपहल बढेको छ ।पछिल्लो केही दिनयता तिहारका लागि सामान किनमेल गर्नेको बजार क्षेत्रमा बाक्लो भीड लाग्ने गरेको छ ।

तिहारमा प्रयोग हुने सामान झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, माला, सप्तरङ्गी टीकालगायतका सामग्री यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् ।


अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको महेन्द्रनगरका व्यापारी सीताराम धामीले बताए ।

‘तिहारले मानिसको बजारमा ओहोरदोहोर बढेको छ, लुगाकपडा तथा तिहारका लागि सामान किनमेल गर्ने हुनाले यो समयमा व्यापार राम्रै हुन्छ’, उनले भने ।

भीमदत्त नगरपालिका–९ स्थित पुरानो बजार ब्रह्मदेवका व्यापारी सुनिलदत्त जोशी बजारमा मानिसको चहलपहल बढेकाले व्यापार हुनेमा खुसी छन् । ‘व्यापार भारतीय ग्राहकमा निर्भर रहन्छ, चाडबाडले अहिले ग्राहक धेरै आइरहेका छन्’, उनले भने , ‘अन्य दिनको तुलनामा कारोबार बढ्ने अनुमान गरेका छौँ ।’

कोरोना महामारीले धरासायी बनेको व्यापार चाडबाडले चलायमान बनाउने ब्रह्मदेवकै व्यापारी गोपालसिंह धामीको आशा छ । ‘कोरोनापछि चहलपहल हुन सकेको थिएन, व्यापार शू्न्य भएर व्यवसायी विस्थापित भए’, धामीले भने, ‘कोरोनाको डरले मानिस बाहिर निस्केनन्, अहिले व्यापार राम्रै भइरहेको छ ।’

कोरोनापछि थलिएको व्यापार विस्तारै चलायमान बन्दै गएको ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले बताए ।