घरैपिच्छे धारा र शौचालय



चौतारा । मनकुमारी दनुवारले आफ्नो जीवनको ५० वसन्त भालेको डाकोसँगै पानी लिन खोलामा पुगेर बिताए । तर हिजोआज भने उनलाई पानीको कुनै चिन्ता छैन । जतिबेला चाहिन्छ, उति बेला घरको आँगनमा भएको धारामा गएर पानी थप्छन उनी ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको दनुवार बस्तीको जीवनशैली अचेल यही कारणाले फेरिएको छ । त्यहाँको प्रत्येक घरमा खानेपानी, शौचालय र धुँवा रहित चुल्हो बनाउने लहर चलेको छ । मेलम्ची नगरपालिकाको कारण यो सम्भव भएको हो ।


एक सय २० घरधुरीमा खानेपानीको धारासँगै शौचालय पनि बनाइएपछि गाउँमा सरसफाइ पनि भएको छ । कालू दनुवारले भने, ‘हाम्रो त सपना पूरा भएको छ’, उनले खुसी पोखे, ‘म यहीँ गाउँमा हुर्किया हुँ, यस्तो होला भनेर त सोचेको पनि थिइन् । सपना जस्तै भयो ।’

खानेपानीवाट सुरु भएको अभियान, बाटो–घाटो सरसफाइ गर्न होस् या पहिरो रोकथाममा पनि विस्तार भएको छ । ‘अब शिक्षा, स्वास्थ्य, चेतना जागरण हुँदै सिङ्गो बस्ती परिवर्तनको लागि सामूहिक प्रयास सुरु गरिनेछ’, मेलम्ची नगर उपप्रमुख उमा प्रधानले भने ।