काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘महापुरुष’ चलचित्र हेर्ने इच्छा भएको बताएका छन् । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य अभिनय रहेको चलचित्र ‘महापुरुष’ कात्तिक ११ गते अर्थात् तिहारको भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ ।
पूर्वप्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत चलचित्रको सफलताको शुभकामना दिँदै सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना पनि गरेका छन् ।
उनले भनेका छन्, ‘वाह कस्तो इच्छाशक्ति ! सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुन्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना गर्दछु। मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनीत चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा लागेको छ। चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु।’