रुपन्देही । रुपन्देही क्षेत्र नम्बर एकका स्वतन्त्र उम्मेदवार घनश्याम भूसालले केपी ओलीसँग नैतिकता नै नभएको आरोप लगाएका छन् । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा भूसालले ओलीलाई नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको बताएका हुन् ।
उनले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको बताए । सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका भूसालले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथिनै आक्रमण गरेको बताए ।
उनले भने, ‘पछिल्लो पटक जब उहाँ प्रधानमन्त्री हुनु भयो । उहाँले त के ठान्नु भयो भने यी सब कमिला हुन् । यी पार्टीका पनि कमिला बराबर नै हुन् । यी जनता भनेका, अरु पार्टी भनेका काँग्रेस भनेका यी छिचिमिरा हुन् । यीनको काम छैन भन्ने हिसाबले सोच्नु भयो । संसारमा कोही छ भने म छु । कोही प्रतापी छ भने म छु भन्ने घमण्ड भयो । संसद विघटन गर्नुभयो । अदालतमा मुद्धा चल्यो । अदालतले संसद पुनस्र्थापित गरिदियो । संसदलाई पुनस्र्थापित गरिदिएपछि कोही पनि थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्यो भने आफैंले विघटन गरेको संसद पुनस्र्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनु पर्दथ्यो । तर दिनु भएन ।’
भूसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप लगाए ।