ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त



बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त भएका छन् । मंगलबार बेलायतका राजा चार्ल्स तृतीयले सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि बेलायती राजा चार्ल्स तृतीयले आमन्त्रण गरेका थिए । ऋषि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्री बनेका छन् ।


राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बनेका हुन् । उनी बेलायतका पहिलो ब्रिटिश–एशियाली प्रधानमन्त्री हुन् । उनी यसवर्ष त्यहाँ बनेका तेस्रो प्रधानमन्त्री हुन् । दुई शताब्दीको अवधिमा ४२ वर्षीय उनी सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा डाउनिङ स्ट्रीट प्रवेश गरेका छन् ।

डाउनिङ स्ट्रीटबाट देशका नाममा सम्बोधन गर्दै उनले आफ्ना पूर्ववर्तीले गरेका केही गल्तीहरू सुधार्ने काम तत्काल सुरु हुने बताए । उनले बोरिस जोनसनले प्रधानमन्त्रीका रूपमा हासिल गरेका अभूतपूर्व उपलब्धिहरूप्रति सधैँ धन्य रहने समेत बताए ।

ब्रिटेनमा यसअघि देखिएको राजनीतिक र आर्थिक भद्रगोलपछि उनी स्थिरताको वाचासहित पद सम्हाल्न लागेका हुन् । यससँगै निवर्तमान प्रधानमन्त्री लिज ट्रस आधिकारिक रूपमा बेलायतको इतिहासमा सबैभन्दा छोटो कार्यभार सम्हाल्ने प्रधानमन्त्री बनेकी छन्।