उम्मेदवारी मनोनयन दर्ताको समय थप हुँदैन : निर्वाचन आयोग



काठमाडौँ । निर्वाचन आयोगले योग्यता पुगेका सबै उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी मनोनयनका लागि आवश्यक सहजीकरण गर्ने बताएको छ । निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले त्यसका लागि योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार मनोनयनका लागि आवश्यक सहजीकरण गर्न निर्वाचन आयोग तयार रहेको बताए । उनले निर्वाचन कार्यतालिका भने पछि सार्न नसकिने पनि स्पष्ट पारे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारी मनोनयनका लागि उम्मेदवारहरुको भौतिक उपस्थिति अनिवार्य नरहेको पनि बताए । दलको आधिकारिक पत्र, वारेसनामा र मतदाता परिचय पत्रको निस्सा भए मनोनयन गर्न सकिने व्यवस्था निर्वाचन अधिकृतको कार्यालयमा गरिएको पनि उनले बताए ।


प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘उम्मेदवारी मनोनयनका लागि आफै जान सक्ने अवस्था रहेन भने पनि आफ्नो वारेस वा प्रतिनिधिमार्फत् गर्न सकिने व्यवस्था गरेको हुनाले उम्मेदवारको भौतिक उपस्थितिको अनिवार्यता कानुनले भनेन । त्यसकारण हामीले यो कार्यक्रम सूचारु गर्न उपयुक्त ठान्यौं । केही अप्ठ्यारो परेको स्थिति छ भने आयोगले राजनीतिक दलहरुलाई आफ्नो स्रोत, साधन र जनशक्ति प्रयोग गरेर उम्मेदवारको मनोनयन गर्न सकिने व्यवस्था गरेको छ । यसमा कुनै पनि किसिमको अवरोध भयो भने त्यसलाई आयोगले सहजीकरण गर्नका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई भनेको छ । त्यसका लागि दलको आधिकारिक पत्र, वारेशनामा र मतदाता परिचय पत्रको निस्सा भने हुनुपर्नेछ । योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने अधिकारबाट आयोगले बञ्चित गराउने छैन ।’

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जना भन्दा बढी निर्वाचन अधिकृतको कार्यालयमा नजान पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारी स्रोत, साधनको प्रयोग गरेर निर्वाचनको प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा नजान पनि मन्त्रीहरुलाई रोक लगाइएको बताए ।

आयोगले यो वर्ष भने निर्वाचनको दिन मंसीर ४ गते यातायातको साधन व्यवस्थित ढंगले संचालन गर्नका लागि अनुमति दिने भएको छ । ज्येष्ठ नागरिक, अशक्त, मतदान केन्द्र भन्दा धेरै टाढा भएका मतदाताहरुका लागि पनि यातायातको साधन व्यवस्थित ढंगले संचालन गर्न अनुमति दिने निर्णय आयोगले गरेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।