उम्मेदवारीविरुद्धको उजुरीमा देउवाले बुझाए जवाफ



काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ बुझाएका छन् ।

फरक-फरक जन्म मिति भएको भन्दै परेको उजुरीमा देउवाले मंगलबार पत्नी आरजु राणा देउवामार्फत् मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जवाफ बुझाएका हुन् । देउवालाई जवाफ पठाउनका लागि दिउँसो २ बजेसम्मको समय दिइएको थियो । उजुरीबारे आज साँझ ५ बजेसम्म निर्णय हुने डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।


डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएपछि उजुरी परेको हो । देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख छ ।

देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्णबहादुर मल्लले जन्म मिति फरक भएको भन्दै दिएको उजुरी दिएका थिए ।