इन्डोनेसियामा फुटबल खेलका क्रममा रंगशालामा भागदौड हुँदा १२७ जनाको मृत्यु, १८० घाइते



इन्डोनेसियामा जारी रहेको एक फुटबल खेलका क्रममा भएको हिंसामा परेर कम्तीमा पनि एक सय २७ जनाको ज्यान गएको छ । खेल हेर्न गएका खेलका पक्षधरहरुका बीचमा भएको हिंसामा परेर ती व्यक्तिको ज्यान गएको एकजना प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको मलाङ भन्ने स्थानमा भएको सो खेलका क्रममा सो खेलका समर्थकहरुका बीचमा हिंसा भड्किएको थियो । हिंसामा परेर एक सय २७ जनाको ज्यान गएको र १८० जना घाइते भएका सो समाचारमा जनाइएको छ ।


इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अखिन्ताले दिएको समाचारमा खेलमा हार खाएको एक पक्षका समर्थकहरुले हार सहन नसकेर हिंसा मच्चाएका थिए ।

त्यसपछि त्यहाँ जम्मा भएको भीडमा भागदौड पनि मच्चिएको थियो । भागदौडमा परेर करिब दुई सय जना घाइते पनि भएका जनाइएको छ । हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए । त्यसलगत्तै प्रहरीले पनि भीड नियन्त्रण गर्नका लागि अश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरीले अश्रुग्यास हानेपछि सो खेल हेर्न त्यहाँ जम्मा भएका भिडका बीचमा भागदौड भएको थियो । धेरै जसो मानिस भागदौडमा परेर ज्यान गुमाएका थिए ।