अहिले गोरू गाडावालाले टाउको उठाउन खोजेः प्रचण्ड



विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन संग्रामको रूपमा हुन लागेको बताएका छन् ।

विराटनगरमा शनिबार आयोजित सत्ता गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यो निर्वाचनमा दुई फरक–फरक प्रवृत्तिबीच प्रतिस्पर्धा हुन लागेको बताए । अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनपछि संविधान निर्माण भएको र अहिले गोरू गाडावालाले टाउको उठाउन खोजेको आरोप लगाए ।


उनले भने,‘यो गठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन हो । अर्को गठबन्धन गोरूगाडावाला गठबन्धन हो । त्यसकारण मंसिर ४ गते एउटा ठूलो संग्राम हुँदैछ । यो गठबन्धन नबनाएको भए शेरबहादुरको नेतृत्वमा सरकार पनि बन्दैनथियो । स्थानीय तहमा यो परिणाम आउँदैनथियो ।’ विस्तृत शान्ति सम्झौता र संविधान रक्षाका लागि काँग्रेससहितको गठबन्धन निर्माण गरिएको उनले बताए ।

ओलीले धोका दिएपछि आफूले ज्ञान प्राप्त गरेको बताउँदै प्रचण्डले सहमति, सहकार्यको संस्कृति निर्माण शान्ति सम्झौतापछि भएकोले एकअर्कालाई सहयोग गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।

‘हामी एक ढिक्का छौं, तपाईंहरू पनि एकताबद्ध हुनुहोला । भोट रूखमा, हँसिया हथौडा, कलम सबैमा एकआपसमा हाल्नुहोला’ उनले कार्यकर्ताहरूलाई आह्वान गरे । अध्यक्ष प्रचण्डले चुनाव जिते अवसर नै अवसर प्राप्त हुने समेत बताउँदै ठूलठूलो राजनीतिक परिवर्तन भएपनि जनतालाई सम्मृद्दि र सुशासन दिन नसकिएको स्वीकार गरे ।

उनले अहिले परिवर्तन उल्ट्याउने खतरा रहेको बताउँदै भने, ‘त्यसकारण अब समृद्धि र सुशासन, उद्योग स्थापना, श्रमजीवीलाई न्याय र समृद्धि दिनैपर्छ ।’ उनले आफूहरु अहिले अन्तिम विजयको यात्रामा रहेको समेत बताए । प्रचण्डले,‘अहिले अन्तिम विजयको यात्रामा छौ, त्यसकारण लोकतन्त्र विरोधी, परिवर्तन विरोधी, प्रतिगामीलाई पराजित गर्नुपर्छ ।’