अष्टलक्ष्मी शाक्यद्वारा एमालेको टिकट अस्वीकार



काठमाडाैँ । एमालेबाट काठमाडौँ-८ मा उम्मदेवार सिफारिस शाक्यले पार्टी अध्यक्ष केपी ओलीलाई विकल्प खोज्न आग्रह गरेकी छन् ।

शनिबार टेलिफोनमार्फत शाक्यले आफू संसदीय निर्वाचनबाट अलग्गिने घोषणा गरिसकेकाले विकल्प खोज्न ओलीलाई आग्रह गरेकी हुन् ।अध्यक्ष ओलीले काठमाडौँ- ८ का लागि शाक्यको नाम टुंगो गरेका थिए ।


‘मैले पहिले नै अब म उठ्दिन भनेको थिए, कुनै अन्यथा होइन अब म करिब ७० वर्ष भइसकें एउटै मान्छे कतिपटक मन्त्री, सांसद, प्रधानमन्त्री हुने ? अब नयाँलाई विकल्प दिनुपर्छ भनेको छुु’ शाक्यले भनिन्,’मेरो उम्मेदवारी हुँदैन, मेरो ठाँउमा अरु नै व्यक्ति उम्मेदवार हुनुहुनेछ ।’

उनले संसदीय राजनीति छोडे पनि पार्टीको राजनीतिक काम भने जारी राख्ने बताइन् । पार्टी भित्र नयाँलाई विकल्प दिनुपर्ने आवाज उठिरहेकोले आफूले उनीहरुलाई अवसर दिनका लागि पनि यो निर्णयमा पुगेको जानकारी दिइन् ।

शाक्यले उठ्ने रहर नभएकाले जबर्जस्ती राखेर मन भएका र जित्ने सम्भावना रहेकालाई १० बुँदेको नाममा फरक व्यवहार नगर्न पनि उनले ओलीलाई अनुरोध गरेकाे बताइन् ।

शाक्यले सुनाइन्– ‘उठ्दिनँ भन्नेलाई तपाईं उठ्न प्रेरित गर्ने र जित्ने सम्भावना भएकाहरूलाई १० बुँदेको नाममा फरक व्यवहार गर्ने कुरा ठीक भएन । यसले गलत सन्देश जान्छ । भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्यहरूलाई समेट्न भनेँ ।’