अमेरिकी प्रतिबन्धले नागरिकको स्वास्थ्यमा असर गरेको इरानको दाबी



संयुक्त राज्य अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धका कारण सबै इरानी नागरिकको जीबिकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर परेको इरानले दावी गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले वासिङ्टनले लगाएको अन्धाधुन्ध प्रतिबन्धका कारण इरानी अधिकारी र सर्बसाधारण व्यक्तिहरूसमेत निशानामा परेको र यसले उनीहरूको जीविकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर पारेको बताएका छन् ।


कनानीले इन्स्टाग्राममार्फत गरेको सन्देशमा लेखेका छन्, “हरेक दिन एउटा बहानामा इरानविरुद्ध प्रतिबन्धको नयाँ सूची जारी गरिन्छ । यस पटक इरानी गृहमन्त्री, सञ्चारमन्त्री र अन्य पाँच इरानी अधिकारीलाई अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ । एपिडर्मोलिसिस बुलोसा (ईबी) बाट पीडित बालबालिकालाई समेत ‘एकपक्षीय, गैर–कानूनी, अन्यायपूर्ण प्रतिबन्धहरू’ बाट छुट दिइएको छैन ।

बिहीबार अमेरिकी वित्त विभागले राजधानी तेहरानमा प्रहरी हिरासतमा एक युवतीको मृत्यु पछि ‘विरोध प्रदर्शनलाई दबाएको’ भन्दै इरानका आन्तरिक तथा सञ्चार मन्त्रीहरू क्रमशः अहमद वाहिदी र इसा जारेपोर तथा अन्य पाँच इरानी सुरक्षा अधिकारीहरूविरुद्ध नयाँ प्रतिबन्धहरू जारी गरेको थियो ।