अध्यक्ष तिमिल्सिना र बेलायतका सभामुखबीच भेटवार्ता



काठमाडाैँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलबीच भेटवार्ता भएको छ । बेलायती संसद् भवनमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सिनाले बेलायती सेनामा कार्यरत ब्रिटिश गोर्खाहरू नेपाल र बेलायतको सम्बन्धको एक महत्वपूर्ण कडी रहेका बताउँदै ब्रिटिस गोर्खाका पेन्सन र क्षतिपूर्तिलगायत विषयमा बेलायती सरकारसँग केही माग रहेको स्मरण गरे ।


भेटमा नेपालको तर्फबाट संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राजदूतावासका उपनियोग प्रमुख सहभागी थिए । अध्यक्ष तिमिल्सिना अफ्रिकी मुलुक रुवान्डाको राजधानी किगालीमा भएको अन्तरव्यवस्थापिका सङ्घको १४५औँ सम्मेलनमा सङ्घीय संसद्को प्रतिनिधिमण्डल नेतृत्व गरी सहभागी भएका थिए ।