सत्ता गठबन्धनमा सिट बाँडफाँडबारे जुटेन सहमति, भोलि फेरि बैठक बस्ने



काठमाडौँ । सिट बाँडफाँटको टुंगो लगाउन बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपरान्हदेखि सुरु भएको बैठक सिट बाँडफाँटमा सहमति जुटाउन नसकेपछि विना निष्कर्ष टुंगिएको हो ।

सिट बाँडफाँटबारे छलफल भएपनि सहमति नभएको र भोलि बिहान ८ बजे बैठक बस्ने जनता समाजवादीका नेता मनिष सुमनले जानकारी दिएका छन् ।


गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन २० गते आगामी चुनावमा तालमेल गर्ने सहमति गर्दै ११ सदस्यीय कार्यदल बनाएका थिए ।

तर, कार्यदलले सहमति जुट्न नसकेपछि बाँकी कार्यदलले आफ्नो प्रतिवेदन शीर्ष नेतालाई बुझाएको थियो । तर शीर्ष तहमा पनि सहमति जुट्न सकेको छैन । गठबन्धनमा नेपाली कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् ।