संविधानको पालक र संरक्षकबाट खुलेआम संविधान मिच्ने काम भयोः प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संरक्षकबाट संविधान मिचिएको बताएका छन् । शुक्रबार काठमाडौंमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताएका हुन् ।

उनले संरक्षकबाट नै जानिबुझी संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धीहरु खोस्ने षड्यन्त्रको रुपमा रहेको टिप्पणी गरे । उनले देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि शुरु भएको उल्लेख गर्दै हालसम्म नरोकिएको बताए । उनले आफूहरुले शतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनैपनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको बताए ।


उनले भने, ‘म भन्न चाहन्छु कुरा धेरै गहिरो छ । जुन प्रतिगमनको षड्यन्त्र गत सालदेखि शुरु भएको छ । त्यो रोकिएको छैन । त्यो नयाँ–नयाँ रुपमा फेरि अगाडि ल्याउने जमर्को भइराखेको छ । हामीले आफ्नो शतर्कता गुमायौँ भने, हामीले हामी भित्रको एकतालाई कमजोर हुन दियौँ भने, हामीले आम किसानहरु, मजदुरहरु, सुकुम्वासीहरु, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरुक गरिराख्ने, संगठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौँ भने कुनैपनि दिन प्रतिगमन हुनसक्ने खतरा छ । संविधानको पालक र संरक्षकबाट नै जानिबुझी, नजानेर, झुक्किएर भन्ने होइन ।’

उनले नागरिकता विधेयक प्रमाणिकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार भएको उनको भनाइ छ । उनले प्रतिगमनको फणाहरु उठेको भन्दै परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको बताए ।