वेस्ट बैंकको झडपमा ३७ प्यालेस्टाइनी घाइते



वेस्ट बैंकको नाब्लस शहरमा इजरायली सेनासँगको झडपमा शुक्रबार कम्तीमा ३७ प्यालेस्टाइनी घाइते भएको प्यालेस्टिनी चिकित्सक र प्रत्यक्षदर्शीले बताएका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले विज्ञप्ति जारी गर्दै घाइतेमध्ये तीन जनालाई घातक गोली र नौ जनालाई रबरको गोली प्रहार गरिएको बताएको छ ।


प्यालेस्टिनी प्रत्यक्षदर्शीहरूले बताएअनुसार नाब्लस शहरको दक्षिण र पूर्व, बेइटा र बेइट दाजान गाउँहरूमा र काफ्र कद्दुम गाउँमा विरोधी प्रदर्शनकारीहरू र इजरायली सैनिकहरू बीच भीषण झडप भएको थियो । प्रदर्शनकारीहरूले टायर जलाएर विरोध प्रदर्शन गर्दै गाउँको वरिपरि तैनाथ इजरायली सैनिकहरूलाई ढुङ्गा प्रहार गरेका थिए ।

काफ्र कद्दुम गाउँका प्रतिरोध कार्यका लोकप्रिय संयोजक मुराद एश्तेवीले सिन्ह्वालाई दिएको जानकारी अनुसार इजरायली सैनिकहरूले आफ्नो गाउँ विरुद्धको कदमलाई अस्वीकार गर्दै प्यालेस्टिनी प्रदर्शनकारीहरूलाई आक्रमण गर्न रबरको गोली, अश्रुग्यास र साउन्ड बम प्रयोग गरेका थिए ।

इजरायली अधिकारीहरूले भने हालसम्म उक्त घटनाबारे कुनै टिप्पणी गरेका छैनन्। जुन १९६७ मा मध्य पूर्व युद्धमा, इजरायलले प्यालेस्टिनीहरूले दाबी गर्ने वेस्ट बैंक, गाजा पट्टी र पूर्वी जेरुसेलमलाई कब्जा गरेको थियो र त्यस बेलादेखि ती क्षेत्रहरू नियन्त्रणमा लिएको छ।

इजरायली सेनाले प्यालेस्टिनी लडाकु र प्रदर्शनकारीहरू विरुद्धको सैन्य कारबाहीलाई तीव्र बनाएपछि वेस्ट बैंकमा विगत केही दिनदेखि तनाव बढेको छ।