राष्ट्रपतिकाे राजीनामा माग्दै जसपाद्वारा मधेसमा साताव्यापी आन्दोलन घोषणा



जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश समितिले आन्दोलन घोषणा गरेको छ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको घोर उल्लंघन गरेको भन्दै जसपा मधेस प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादवले विज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

असोज ६ मा बसेको जसपा मधेस प्रदेश समितिले बैठकमा भएको निर्णय अनुसार राष्ट्रपति भण्डारीविरुद्ध असोज ८ देखि १७ गतेसम्मका लागि पहिलो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको मुख्य सचिव यादवले उल्लेख गरेका छन् ।


उनका अनुसार असोज ८ गते प्रदेशका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमको सन्दर्भमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायीसँग र सञ्चारकर्मीसँग अन्तरक्रिया गरिने छ । असोज ११ गते जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारी विरुद्ध प्रदर्शन गर्दै उनको पुतला जलाउने, १३ गते पालिका स्तरमा अन्तरक्रिया गर्ने र १५, १६, १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनको कार्यक्रम तय गरेको छ ।