रञ्जन कोइरालाको मुद्दाबारे चोलेन्द्रले भने- ‘विवेक प्रयोग गर्दा गल्ती भएको छ’



काठमाडौँ । संसदको महाभियोग सिफारिस समितिले आइतबार तेस्रो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिएको छ ।

समितिले आइतबार जबरालाई पाँच वटा प्रश्न सोधेको थियो । सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा जबराको इजलासले गरेको फैसलाबारे पनि सोधिएको थियो ।


त्यसक्रममा जबराले आफूले विवेक प्रयोग गरेको जवाफ दिएका थिए । उनले आफूले कोइरालाको परिवारको बयान सुनेपछि त्यसबाट प्रभावित भएर कैद घटाउने निर्णय गरेको बताए ।

‘रञ्जन कोइराला कसुरदार ठहरिएका हुन् । उहाँलाई जन्मकैद भएको हो । न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ । तत्कालीन मुलुकी ऐनले त्यो अधिकार दिएको छ,’ उनले बयानको क्रममा भने, ‘यो पारिवारिक मुद्दा हो । नाबालक छोराहरू पनि इजलासमा उपस्थित भए । नाबालकहरूको पालन पोषणका लागि । पारिवारिक जीवन बिताउनका लागि कैद घटाइएको हो । त्यसमा विवेक प्रयोग गर्दा गल्ती भएको छ ।’

उनले भने,‘मैले विवेक प्रयोग गरें । यदि त्यही मुद्दाका कारणले महाअभियोग लाग्ने हो भने मेरो भन्नु केही छैन ।’ जबराले पहिलो दिनको बयानमा न्यायाधीध, नेता र कानुन व्यवसायीमाथि आरोप लगाएका थिए भने दोस्रो दिन महाभियोग सिफारिस समितिमाथि नै प्रश्न उठाएका थिए । समितिले राणालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको छ । समितिको अर्को बैठक आगामी २६ गते बस्नेछ ।