माओवादीलाई नै जनताले देशको साँचो सुम्पिन चाहेका छन् : प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् ।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको स्पष्ट पारे । उनले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने भन्नेकुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको बताए ।


उनले माओवादी नेता, कार्यकर्ताहरुले जनताको बीचमा जानुपर्ने कुरा लगायतका जनमुखी काम गर्न मेहनत नगरेको बताए । प्रचण्डले पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउनसके आगामी निर्वाचनमा (माओवादी केन्द्र) नै पहिलो कम्युनिष्ट पार्टी बन्ने बताए ।

उनले भने,‘पार्टी भित्रको सन्दर्भमा पनि शिक्षा लिएर यो ब्याटलमा हामीले आफूलाई फौजको रुपमा अघि बढाउने भनेर पार्टीका बैठकमा प्रयास गरिरहेका छौँ । माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन सकेन भने कुनैपनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्छ । मैले के देख्छु भने यो पार्टी फेरि एकपटक राम्रो रिभाइभ हुने पूरै सम्भावना छ । माओवादी पार्टी जनतामा अहिले स्थानीय तहको निर्वाचनबाट एउटा सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन्, देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको भन्नेकुरा प्रष्ट देखिएको छ ।’

प्रचडले नेकपा (माओवादी केन्द्र) लाई वैचारिक ढंगले परिमार्जन गर्न आवश्यक रहेको बताए ।