भारतकी राष्ट्रपति द्रोपदी मुर्मु शनिबार बेलायत प्रस्थान गरेकी छन् । बेलायतकी दिवंगत महारानी एलिजावेथ द्धितियको अत्येष्टिमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनले अन्त्येष्टि समारोहमा सहभागी भई भारतको तर्फबाट महारानीप्रति श्रद्धाञ्जील अर्पण गर्दै बेलायती राजपरिवार र बेलायती जनताप्रति सहानुभूति व्यक्त गर्ने भएकी छन् । उनले सोमबार ल्यानक्यास्टर हाउसमा रहेको शोक पुस्तिकामा हस्ताक्षर समेत गर्ने जनाइएको छ ।
बेलायतको निमन्त्रणा अनुसार नै धेरै देशका सरकार तथा राष्ट्रप्रमुखहरु अहिले लण्डन प्रस्थान गर्दै छन् । महारानी एलिजावेथ द्धितियको अन्त्येष्टि यही सेप्टेम्बर १९ मा लण्डनमा भव्य समारोहका साथ गर्ने तयारी बेलायती सरकारले गरेको छ । विभिन्न देशबाट आएका पाहुनाहरु बेलायतका नयाँ राजा चार्लसद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनेछन् । महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ बर्षको उमेरमा निधन भएको हो ।