मकवानपुर । यही आउँदो मङ्सिर ४ गते हुने प्रतिनीधिसभा र प्रदेश सभाको निर्वाचनका लागि मकवानपुरमा मतदाताको सङ्ख्यामा वृद्धि भएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटाैँडाले जनाएको छ ।
सो निर्वाचनका लागि अहिले मतदाताको सङ्ख्यामा वृद्धि भएर तीन लाख सात सय ३३ मतदाता पुगेको सो कार्यालयका प्रमुख लुम्वनाथ पोखरेलले बताए । वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा दुई लाख ९४ हजार नौ सय १९ जना मतदाता थिए ।
मकवानपुरमा अहिले पाँच हजार आठ सय १४ मतदाता थपिएको बताइएको छ । मकवानपुरमा एक लाख ५३ हजार पाँच सय २८ पुरुष र एक लाख ४७ हजार दुई सय महिला तथा पाँच तेस्रो लिङ्गी रहेको बताइएको छ । मकवानपुरमा प्रतिनिधि तथा प्रदेशसभाका लागि एक सय ६७ वटा मतदानस्थल तथा तीन सय ६४ वटा मतदान केन्द्र रहको छ ।
आगामी असोज १५ गते देखि २० गते सम्ममा दुईवटा प्रतिनीधिसभा क्षेत्र रहको मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने सो कार्यालयले जनाएको छ । निर्वाचनका लागि हाल जिल्लामा म्यादी प्रहरीको छनोट कार्य भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।