भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर ओलीले भ्रष्टाचार मात्रै गरे : प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका हुन् ।


उनले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ ? भन्ने बारेमा विचार गर्न आवश्यक रहेको बताए । उनले भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई स्थान नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको बताए । प्रचण्डले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधारेर अहिलेको विकृति, विसंगतिलाई सुधार्न सकिने बताए ।

उनले भने, ‘ हामीले प्रधानमन्त्रीहरुले भन्ने गरेको सुनेका छौँ, म भ्रष्टाचार गर्दिन, गर्नपनि दिन्न, भन्ने साइनबोर्ड, टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्रष्टाचार बाहेक अरु केही गर्दै नगर्ने, के कारणले यो भइरहेको छ, यो व्यक्तिको मात्रै दोष हो कि, प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ । प्राणालीमा सुधार गर्न आवश्यक छ । यस्तो प्रणाली जसले भ्रष्टाचार गर्नेलाई ठाउँ नदिओस् । एकातिर निर्वाचन प्रणालीमा सुधारेर र शासन प्रणालीमा सुधारेर विकृति विसंगतिलाई सुधार्न सकिन्छ ।’

उनले राजनीतिक दल र उद्योगीहरुमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको बताए । उनले देश गम्भीर आर्थिक संकटमा रहेको कुरा देश हरेक कुरामा परनिर्भरतामा रहनुले पुष्टि हुने बताए । उनले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने काममा आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिएपनि अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको गुनासो गरे ।