भारतबाट भन्सार छलेर ल्याइएका दुई टन माछा नष्ट



चितवन । भारतबाट भन्सार छलेर ल्याइएका दुई टन माछा स्थानीय प्रशासनले नष्ट गरेको छ । आज बिहान २ बजे रुपन्देहीबाट काठमाडौँका लागि लैजाँदै गरेको माछा पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरले नियन्त्रणमा लिएको थियो ।

पशु क्वारेन्टिन रामनगर, मत्स्य व्यवसायी संघ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त चेकजाँचका क्रममा माछा बरामद गरेर नष्ट गरिएको हो । माछा भरतपुर महानगरपालिका–१ मा रहेको सतनचुली सामुदायिक वनमा नष्ट गरिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार भन्सार छलेर ल्याइएको माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । उनका अनुसार लु२च ६८९८ नम्बरको बोलेरोमा ल्याइएको माछा नियन्त्रणमा लिई नष्ट गरिएको हो ।


असोज १ गतेदेखि पशु क्वारेन्टाइन, मत्स्य व्यवसायी संघ र नेपाल प्रहरीको संयुक्त टोलीले रामनगरमा चेकजाँच गर्दै आएको छ । सोमबारसमेत चेकजाँचका क्रममा रामनगरबाट छ सय २० किलो माछा बरामद गरी नष्ट गरिएको थियो । बरामद गरिएको माछामा फर्मालीनको प्रयोग गर्ने गरिएको उनले बताए ।