भक्तपुर अस्पतालको मेसुमा डा. गौतम



भक्तपुर । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. सुमित्रा गौतमलाई नियुक्त गरेको छ । बुधबार दोस्रोपटक सो पदमा पदबहाली गर्दै उनले बालबालिकाको ‘ओपिडी सेवा’ निःशुल्क गर्ने जानकारी दिइन् ।

त्यस्तै अस्पतालमा आउने बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने र बेवारिसे शवको व्यवस्थापनसमेत निःशुल्क गर्ने उनले बताइन् । यसअघि अस्पताल प्रशासनले बेवारिसे बिरामीको उपचार नगरी फर्काउने गरेको र विगतमा गर्दै आएको बेवारिसे शवको व्यवस्थापनसमेत रोकेको थियो ।


भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले समिति र अस्पताल व्यवस्थापन पक्षको संयुक्त प्रयासले अस्पताललाई उत्कृष्ट बनाइने बताए । कोरोमा महामारीको जटिल अवस्थामा मेसु डा गौतमले पहिलोपटक पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन, कोरोना उपचार सेवा एवं भेन्टिलेटरसहितको कोरोना आइसीयू, बच्चाका लागि एनआइसीयू, एचडीयूलगायत अन्य विभिन्न सेवा विस्तार गरेका थिए ।