बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधन



ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ । बेलायतको बकिंघम राजप्रासादले महारानीको निधन भएको घोषणा गरेको हो । उनी ९६ वर्षकी थिइन्। उनको निधन स्कटल्याण्ड स्थित बाल्मोरल काशलमा भएको हो जहाँ उनले ग्रीष्मकालीन समय बिताएकी थिइन् ।

उनका चारजना सन्तान, उनको उत्तराधिकारी प्रिन्स अफ वेल्स समेत अन्तिम समयमा उनको साथमा थिए । उनी बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी थिइन् । उनी ७० वर्षसम्म गद्दीनसीन थिइन् ।


बिहीबार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए ।

रानीको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन्। रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती संचारमाध्यमले जनाएका छन् । त्यस्तै राष्ट्रिय शोकको अवधि पनि सुरु भएको छ। करिब १० दिनमा उनको अन्तिम संस्कार गरिनेछ।

उनको शवलाई बकिङ्घम प्यालेसमा सारिने बताइएको छ। उनको सम्मानमा फुटबल, क्रिकेटजस्ता खेल पनि रोकिन सक्ने बताइएको छ। महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन् ।

अत्यन्तै कठिन घडीमा समेत राजतन्त्र कायमै राख्न उनले हासिल गरेको सफलता अझ उल्लेखनीय छ । त्यसमाथि उनको जन्मको बेला उनको भाग्य राजगद्दीसँग जोडिएला भनेर शायदै कसैले सोचेका थिए होलान् । एलिजाबेथ एलेक्जेण्ड्रा मेरी विन्डसर सन् १९२६ एप्रिल २१ मा लन्डनको बर्कली स्क्वायर नजिकैको घरमा जन्मिएकी थिइन् । उनी जोर्ज पाचौँका दोस्रो छोरा अर्थात् ’ड्यूक अफ योर्क’ अल्बर्ट र उनकी पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुन् ।

एलिजाबेथ र सन् १९३० मा जन्मिएकी उनकी बहिनी मार्गरेट रोज दुवै जनाको शिक्षादीक्षा घरमै भएको थियो र उनीहरु मायालु पारिवारिक वातावरणमा हुर्किएका थिए । एलिजाबेथ आफ्ना पिता र हजुरबुबा जोर्ज पाचौँसँग अत्यन्तै निकट थिइन् । छ वर्षको उमेरमा एलिजाबेथले आफ्ना घोडा प्रशिक्षकलाई आफू थुप्रै घोडा र कुकुर भएकी कन्ट्री लेडी बन्न चाहेको बताएकी थिइन् ।

निकै कलिलो उमेरदेखि उनले उल्लेखनीय जिम्मेवारीबोध देखाएको बताइन्थ्यो । त्यति बेलाका भावी प्रधानमन्त्री विन्स्टन चर्चिललाई उदृत गर्दै उनमा ’एउटा बच्चामा अनौठो लाग्ने नेतृत्व क्षमता देखिएको’ बताउने गरिन्थ्यो । विद्यालय नगए पनि एलिजाबेथले भाषाहरूमा दक्षता देखाएकी थिइन् र संवैधानिक इतिहासको विस्तृत अध्ययन गरेकी थिइन् ।

उनी आफ्नो उमेरका बालिकाहरूसँग घुलमिल होऊन् भनेर उनीहरूको एउटा विशेष समूह ’गर्ल गाइडस् कम्पनी’ बनाइएको थियो ।

सन् १९३६ मा जोर्ज पाचौँको निधनपछि डेभिड नामका उनका जेठा छोरा एडवर्ड आठौँ भए । तर दुईपल्ट छोडपत्र गरिसकेकी अमेरिकी वालिस सिम्पसनलाई उनले पत्नीका रूपमा रोजेपछि त्यसलाई राजनीतिक र धार्मिक आधारमा अस्वीकार्य ठानियो । वर्षको अन्त्यमा उनलाई गद्दीच्युत गरियो ।

अनिच्छुक हुँदाहुँदै ड्यूक अफ योर्क राजा जोर्ज छैटौँ बने । उनको गद्दीआरोहणले एलिथाबेथलाई आउँदा दिनहरूमा आफ्नो भाग्यमा के थियो भन्ने पूर्वानुभव गराएको थियो र पछि उनले त्यो अवसर ’असाध्यै अद्भुत’ भएको लेखेकी थिइन् । युरोपमा बढ्दो तनावको पृष्ठभूमिमा आफ्नी पत्नी–रानी एलिजाबेथसँगै नयाँ राजा राजतन्त्रमा जनआस्था पुनर्स्थापित गराउने अभियानमा लागेका थिए ।

त्यो उदाहरण उनीहरूकी ठूली छोरीको हकमा पनि खेर गएन । सन् १९३९ मा १३ वर्षीया राजकुमारी राजा र रानीसँगै डार्टमथस्थित रोयल नेभल कलेज पुगिन् । आफ्नी बहिनी मार्गरेटसँगै उनलाई उक्त कलेजमा अध्ययरनत मध्येका एक ग्रीसका राजकुमार फिलिपले साथ दिएका थिए । यो उनीहरूबीच भेट भएको पहिलो अवसर थिएन। तर उनले फिलिपमा चाख लिएको पहिलो पटक थियो।

नौसेनाबाट छुट्टीमा आएका बेला राजकुमार फिलिप आफ्ना शाही नातेदारहरूलाई भेट्न आउँथे । सन् १९४४ सम्ममा त, जब एलिजाबेथ १८ वर्षकी थिइन्, उनी फिलिपसँग प्रेममा परिसकेकी थिइन् । उनले फिलिपको तस्वीर आफ्नो कोठामा राखेकी थिइन् र उनीहरू एकअर्कासँग पत्र आदानप्रदान गर्दथे ।

युद्धको अन्त्यतिर युवती राजकुमारी ब्रिटिश सेनाको महिला शाखा अक्जिलरी टेरिटोरियल सर्भिस( एटीएस) मा भर्ना भइन् । उनले त्यहाँ गाडी चलाउन र सामान बोक्ने ’लरी’को मर्मतसम्भार कसरी गर्ने भन्नेबारे सिकिन् । युद्धपछि राजकुमार फिलिपसँग विवाह गर्ने उनको चाहनामा थुप्रै व्यवधान आए ।

राजा आफूले अत्यन्तै रुचाएकी छोरी गुमाउन अनिच्छुक थिए र फिलिपलाई उनको विदेशी वंश नस्वीकार्ने संस्थापन पक्षको पूर्वाग्रह तोड्नुपर्ने चुनौती थियो । अन्ततः यो जोडीको इच्छाले जित हात पार्यो र १९४७ नोभेम्बर २० मा ’वेस्टमिनस्टर याबी’मा उनीहरूले विवाह गरे ।