प्रेस युनियनले पार्टीबाट सिफारिसमा परेका पत्रकारलाई उम्मेदवार बनाउन पहल गर्ने



काठमाडौँ । नेपाल प्रेस युनियनले देशभरबाट नेपाली कांग्रेसले सिफारिस गरेका युनियनका पत्रकारलाई संसदमा पठाउन पहल गर्ने भएको छ ।

प्रेस युनियनले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवार सिफारिस भएका प्रेस युनियनमा आवद्ध पत्रकारसँग बिहीबार काठमाडौँमा अन्तक्रिया कार्यक्रम गरी युनियनकर्मीलाई संसदमा पठाउन पहल गर्ने बताएको हो ।


कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संसदमा नेपाल प्रेस युनियनमा आवद्ध पत्रकार प्रतिनिधित्व गरे प्रेस युनियनको साख बढ्ने बताउँदै प्रतिनिधित्वका लागि युनियनले पहल गर्ने बताए ।

‘युनियनमा आवद्ध पत्रकारलाई संसदमा प्रतिनिधित्व गराउन हामी पार्टीका शीर्ष नेतृत्व र संसदीय वोर्डका सदस्यको ध्यानाकर्षण गराउँछौँ’-उनले भने ।

युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारलाई संसदमा प्रतिनिधित्व गर्न सके पत्रकारको आवाज देशव्यापी लैजान सकिने बताए । पूर्वअध्यक्ष वाग्ले तनहुँ क्षेत्र नं १ प्रदेश क बाट समानुपातिकतर्फ सिफारिस भएका छन् ।

युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले सम्भावना बोकेका पत्रकारलाई संसदमा प्रतिनिधित्व गर्न प्रेस युनियनले पार्टीको केन्द्रीय नेतृत्वलाई दवाव दिनुपर्ने बताए । पूर्वअध्यक्ष पोखरेल सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् ।

युनियनका सल्लाहकार एवम् वरिष्ठ पत्रकार कविर राणा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेवार सिफारिस भएका छन्। युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य चितवन क्षेत्र नं २ प्रदेश ख बाट प्रत्यक्षतर्फ, युनियनका निवर्तमान कोषाध्यक्ष सरोज अधिकारी धादिङबाट प्रदेशसभाको समानुपातिक, युनियनका पूर्व उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी ओखलढुङ्गाबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सिफारिस भएका छन्।

यस्तै युनियनका पूर्व सचिव सन्तोष न्यौपाने काठमाडौँ क्षेत्र नं ६ प्रदेश कबाट, जगदिश भट्टराई गुल्मी-१ प्रदेश कबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् भने युनियनका नेता एवम् नेपाल पत्रकार महासंघ उपत्यका प्रतिष्ठान शाखाका सचिव रोशन पाण्डे काभ्रेबाट प्रदेशसभा समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका छन् ।

युनियनका नेता झपेन्द्रप्रसाद गैरे पाल्पाबाट प्रदेशसभा समानुपातिक उम्मेदवार, परमेश्वर साह सिरहाबाट, चित्रकुमार मिजार सिन्धुपाल्चोकबाट उम्मेदवारका लागि सिफारिस भएका छन्।

देशभरबाट ५० भन्दा बढी युनियनकर्मीलाई पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा प्रतक्ष्य तथा समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको युनियनका महासचिव दिलिप पौडेलले जानकारी दिए ।

उम्मेदवार सिफारिसमा परेका देशभरका पत्रकारको तथ्याङ्क सङ्कलन गरी उम्मेदवार बनाउन पहल गर्ने महासचिव पौडेलले बताए ।