प्रहरी भन्छ – बलात्कारको आरोपमा लामिछानेमाथि अनुसन्धान अगाडि बढाएका छौँ



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार एक १७ वर्षीया किशोरीले लामिछानेविरुद्ध पटक-पटक बलात्कार गरेको आरोप लगाएकी हुन्  ।

जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ ।


‘प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको,’ जिल्ला प्रहरी परिसर काठमाडौँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उजुरीमा ती नाबालिकाले गत भदौ ५ गते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौँ ल्याई रातको अन्दाजी ११ : ५५ बजे काठमाडौं महानगरपालिका–९ स्थित एक होटेलको कोठा नं. ३०५ मा लामिछानेले आफूलाई राखेको बताएकी छन् ।

भदौ ६ गते रात अन्दाजी १२ : २५ बजेसम्म पटक पटक बलात्कार गरेको उनले उजुरीमा जनाएकी छन् । अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।